नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र काभ्रेका जुझारु युवा नेता हुन कान्छालाल जिम्बा । महाभारत गाउँपालिकाका अध्यक्ष समेत रहेका जिम्बा विकास प्रेमी नेताको रुपमा गनिन्छन् । प्रष्टवक्ता निडर स्वभावका कान्छालाल जिम्बा नेपालमा गणतन्त्र स्थापना भएपछि गाउँगाउँमा शिक्षा र स्वास्थ्यको पहुँचमा स्तर उन्नती भएको उनको कथन छ । कोरोना भाइरस कोभिड-१९ प्रकोपले विश्व संकटमा परेको बखत पछिल्लो समय नेपालमा कोभिड-१९ ले नराम्ररी प्रभावित पारेको छ । दैनिक ६/७ हजारको हाराहारीमा कोरोना संक्रमित भएका छन् । सयौँको संख्यामा कोरोनाकै कारण मृत्युवरण हुनु परेको छ । यो विशम परिस्थितिमा जनताको जीवन रक्षा प्रमुख सवाल भएकोले केन्द्र र प्रदेश सरकारको ध्यान जनताको स्वस्थ्यको रक्षा सबै नागरिकलाई कोरोना खोप लगाउने तिर हुनु पर्नेमा राजनीतिक खिचातानीमा अल्झेकाले स्थानीय सरकारले जनताको जीवन रक्षाको लागि भरपुर कार्य गरेको उनको भनाई छ । कोभिड-१९ जोखिम न्यूनिकरण तथा रोकथामका योजना र समग्र गाउँपालिकाको विकासको अवस्था बारेमा रेडियो एवीसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
कोरोना संक्रमित नागरिकहरुको उपचार गरी जीवन रक्षाको लागि कस्तो योजना अघि बढाई लागि परेको छ ?
कोभिड-१९ प्रकोपले विश्वलाई नै आक्रान्त बनाएको छ । पछिल्लो समय नेपाल र भारत बढी प्रभावित भएको छ । गाउँपालिकाका नागरिकहरुलाई कोरोना लाग्नबाट जोगाउन सचेतना फैलाउने कार्यको सवालमा स्वास्थ्य संस्था र स्वस्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरु, सबै वडाका जनप्रतिनिधीहरुको सक्रियतामा चेतना फैलाउने कार्य भएको छ । हाम्रो कोशिस संक्रमित नागरिकहरुलाई उपचार गरी बचाउने हो, उक्त कार्य भएको छ । स्थानीय सरकारले गर्नुपर्ने कर्तव्यमा हाम्रो गाउँपालिकाले जनताको जीवन रक्षाको लागि आइसोलेसन कक्षा निर्माण गरिएको छ । १० वेडको अस्थायी कोभिड-१९ अस्पताल निर्माण गरेका छौँ । ५ वटा अक्सिजन सिलिण्डर सहित, ३ वटा अक्सिजन कन्सन्ट्रेटर सुविधाको स्वास्थ्य सेवा प्रदान गरेका छौँ । कोभिड-१९ अस्पतालका लागि एक डाक्टर, दुई स्टाफ नर्स, ल्याव असिसटेण्ड १ जना, अहेव २ जना, अनमी ३ जना, कास २ जना गरी १२ स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा प्रवाह गरेको छ । घरतीछापमा स्थापना गरेको कोभिड अस्पतालमा ५ जनाको उपचार भइरहेको छ । हरेक वडा वडामा मास बेसिसमा कोरोना परीक्षण गरिएको छ । जसका कारण कोरोना थप नागरिकमा फैलन नपाओस भनेर सजक र सतर्क अपनाएका छौँ । १ सय २२ जना संक्रमित भएका छन् । १ सय १२ जना होम आइसोलेसनमा बसेका छन् । ५ जना निको भई घर फर्केका छन् ।
केन्द्र र प्रदेश सरकारबाट गाउँपालिकालाई कस्तो सहयोग प्राप्त भयो ?
कोभिड-१९ जोखि न्यूनिकरण रोकथाम तथा नियन्त्रण गर्न प्रदेश र केन्द्र सरकाले जति सहयोग उपलब्ध गराउनु पर्ने त्यो हुन सकेन् । हाल केन्द्र्रीय सरकारले अस्थायी कोभिड अस्पताल निर्माणको लागि भनेर १० लाख त्यसमा पनि ४ लाख ५० हजार औषधी उपचार र स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ता प्रदान गर्नु पर्ने निर्देशन सहितको पत्र आएको छ । हाम्रो गाउँपालिकामा आर्थिक स्रोत जुटाउने माध्यम आयश्रोत खासै छैन् । तै पनि हामीले गत साल नै ३० लाखको विपद् कोष स्थापना गरेको हुँदा सोही रकमबाट व्यवस्थापन गरेर जनताको जीवन जोगाउन जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको सक्रियताबाट उच्च मनोवलका साथ कार्य अघि बढेको छ ।
विनाशकारी भूकम्प, बाढी पहिरो र प्राकृतिक महामारी महा विपत्तीले नराम्ररी प्रभावित भइ रहेको अवस्थालाई नियालेर संकट टार्न किन विशेष खालको योजना सहितको विशेष कोष नबनाएको त ?
यहाँले उठाएको जिज्ञाशा सहि छ । विभिन्न खालका प्राकृतिक विपत्ती महामारीको रोकथाम तथा नियन्त्रणको लागि विशेष खालको विपद् कोष खावश्यक छ । हामीले गत बर्ष देखि विपद् कोषको स्थापना गयाँै, ३० लाखको ०७७/०७८ मा कोरोना महामारीलाई मध्यनजर गरेर २० लाख थप गरी ५० लाखको कोष बनाएका छौँ । त्यस कोषलाई हरेक बर्ष बृद्धि गर्दै लैजाने हाम्रो लक्ष्य छ ।
गाउँपालिकाको विकास निर्माणको सवालमा भन्नु पर्दा स्थानीय सरकार गठन भएपछि उपलब्धी मुलक ५ कार्यहरु के के हुन ?
हामी निर्वाचित हुँदा गाउँपालिकाको भवन समेत थिएन, खुल्ला आकास मुनि सफथ खाएका थियौँ । हामी निर्वाचित भएको ४ वर्ष भयो । सबैधानिक व्यवस्था अनुरुप २२ वटा अधिकार प्रयोग गरेर कानुन निर्माण गर्नुपर्ने थियो । हाम्रो गाउँसभाले ३२ वटा कानुन निर्माण गर्यो । कतिपय कानुन संघ, प्रदेश र स्थानीय सरकारले प्रयोग गर्ने साझा अधिकारका कानुन निर्माण अझै हुन सकेको छैन् । देश्रो कार्य भन्नु पर्दा गाउँपालिकाको भवन निर्माण सम्पन्न भयो । ४ वटा वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको छ । ४ वटा वडामा आगामी वर्षमा निर्माण हुने छन् । २सय किमी मोटर बाटो निर्माण, ८ किमी ७ सय मिटर मोटर बाटो कालो पत्रे गर्न साढे २५ करोडमा ठेकका प्रक्रिया शुरु भइसकेको छ । ५० कोठाका सामुदायिक विद्यालय पक्की भवनहरु निर्माण भएका छन् । उच्च शिक्षा अध्ययन गर्न भवन निर्माण भएका छन् । अध्यापन शुरु भएको छ । त्यस्तै गरी ५ वटा स्वास्थ्य चौकी थिए । अहिले १२ वटा स्वास्थ्य संस्थाबाट नागरिकहरुले स्वास्थ्य सेवा प्राप्त गर्न सकेका छन् । आर्थिक कारोवार सहज बनाउन बैँक स्थापना गरिएको छ । शैक्षिक क्षेत्रको विकासको लागि गाउँपालिकाले विषयगत शिक्षकहरुको दरबन्दी मिलान जस्ता कार्यहरु गरी उपलब्धी मुलक कार्य गरेको अवगत गराउन चाहन्छु ।
देशमा गणतन्त्र स्थापना भइ सकेपछि पनि कम्युनिष्ट सरकारले नेतृत्व गर्ने अवसर पायो । जन अपेक्षा अनुरुपको विकास निर्माणले तिव्रता पाएन भनिन्छ, के भन्नृु हुन्छ ?
हजारौँको बलिदान र त्यागबाट जनताद्धारा प्राप्त लोकतान्त्रिक गणतन्त्र २०६२/०६३ को जनआन्दोलबाट प्राप्त उपलब्धी हो । केन्द्र, प्रदेश र स्थानीय सरकारको संरचनागत विकासको चरणले एक नौलो आयम थपेको छ ।
“सिंह दरबारको अधिकार गाउँगाउँमा भने बमोजीम कार्य हुन त अभैm केही समय लाग्छ नै तर स्थानीय सरकार गठन भएपछि भैतिक पूर्वाधार विकासको एक खालको जग बसाली सकेको छ । त्यसको दिगो विकास भने गर्न बाँकी छ । गाउँगाउँमा जीवन जल र सिटामोल पुग्न सकेको थिएन अहिले स्थानीय सरकारले नागरिकहरुको लागि स्वास्थ्य सेवा घर घरमा पुर्याएका छन् ।” दुरदराजका जनताहरुलाई नागरिकता बनाउन ५ दिन लगाएर धायर बनाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । उच्च शिक्षा ग्रहण गर्न विद्यालयहरु बनेका छन् । विद्युतीकरण भएको छ । बैकिङ सुविधा प्राप्त गरेका छन् । विकास निर्माणले गति लिएको छ । आन्तरिक राजश्वको श्रोत कम भएका स्थानीय पालिकाहरुलाई विशेष प्राथमिकता दिई केन्द्र र प्रदेश सरकारले ध्यान दिन जरुरी छ । शिक्षा र स्वास्थ्य निःशुल्क गर्नु पर्छ । जनताका आधारभूत आवश्यकता परिपूर्ति हुनुपर्छ । गरिव र धनिको खाडल पुरेर सबै जनतामा आर्थिक सम्पन्न हासिल हुनु पर्छ । उद्यमशिलताको विकास, औद्योगीकरण गर्ने, नीति अङ्गीकार गरी ग्रामीण अर्थतन्त्र आत्मनिर्भर बनाउन सक्ने बातावरण बन्नुपर्छ । गाउँगाउँमा विकासको लहरले चरण पार गर्दै गएको छ । विरोधका लागि विरोध गर्ने हाम्रो राजनीतिक प्रवृति संस्कारलाई परिवर्तन गर्नु पर्छ । त्यसो भन्नेहरु गाउँगाउँमा विकास गरेका देख्नै नचाहने कुतत्व भएको रतन्धोकारी हुन् भन्ने लाग्छ । विकास भएको छ की छैन विगत र वर्तमानलाई नियाल्न विकासको अवस्था हेर्न महाभारत गाउँपालिका आउन अनुरोध गर्दछु ।
