IMG-LOGO

फाइब्रोइड अर्थात् पाठेघरमा मासु पलाउने समस्या

 मंगल, जेठ ९, २०८०  – प्रा.डा. सुमनराज ताम्राकार

         ४७ वर्षकी मेलिना खड्का (नाम फेरिएको) प्रत्येक पटकको महिनावारीमा धेरै रगत जाने एवं तल्लो पेट पनि निकै दुख्ने समस्याले चेकअप गराउने क्रममा पाठेघरमा मासु पलाएको हुन सक्ने आशंकाले भिडियो एक्सरे गराउँदा पाठेघरमा मासु पलाएको देखियो । उक्त समस्याको निराकरणका लागि ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघर निकाल्ने शल्यक्रिया गराईन् । यदि यही समस्या २५, २६ बर्षकी भएको भए अर्थात् बच्चा पाउने बाँकी नै भएको उमेरमा भए पाठेघरमा मासु पलाएको मात्र निकाल्ने शल्यक्रिया (मायोमेक्टोमी) गरिन्छ ।         स्त्री रोग विभागको बहिरङ्गमा आउने प्रायसः महिलाहरुको गुनासोहरुमा महिनावारी गडबडी, असामान्य योनीश्राव, तल्लो पेट दुख्ने, तल्लो पेटमा डल्लो आउने, आङ खस्ने, सन्तान नहुने, ट्युमर वा क्यान्सर पलाउने आदि हुन् । तल्लो पेटमा डल्लो आउने समस्या लिई आउने मध्ये करीब ३ प्रतिशतमा फाइब्रोइडको समस्या हुने गरेको छ । बढी जसो ३५ देखि ४५ वर्षका उमेरका महिलालाई फाइब्रोइडको समस्या हुनसक्छ । धेरै वा थोरै संख्यामा भएपनि ४० वर्षको उमेर पुग्ने बेलासम्म करीब २० प्रतिशत महिलामा पाठेघरमा मासु पलाउने समस्या हुनसक्छ ।         यसरी विभिन्न प्रकारका स्त्री रोग समस्याको पहिचानको क्रममा भिडियो एक्सरेको उपयोगिताले पाठेघरमा मासु पलाउने समस्या लगायतका अन्य समस्या पत्ता लगाउन सम्भव भएको छ । र, उपचारकै हकमा नेपालमा पनि ल्पाप्रोस्कोपी प्रविधिबाट स्त्री रोग सम्बन्धी उपचारहरु गर्न सम्भव भएको छ । बिरामी चाँडै तङ्गरिने, अस्पतालमा कम समय बसे पुग्ने, शल्यक्रियापछि पीडा पनि कम हुने र चाँडै काममा फर्किन मिल्ने भएकोले पछिल्लो समय ल्याप्रोस्कोपी प्रविधि लोकप्रिय हुँदै गएको छ ।  फाइब्रोइडका कारण र जोखिम         पाठेघरमा मासु पलाउने समस्या (फाइब्रोइड) हुनाको प्रष्ट कारण नभएपनि करीब ३० प्रतिशतमा वंशाणुगत र अन्यमा शारीरिक वृद्धि गराउने विभिन्न तत्वहरुले इस्ट्रोजेन नामक हर्मोन मार्पmत् फाइब्रोइड गराउन सक्दछ । फाइब्रोइडको वृद्धि इस्ट्रोजेनमा आधारित छ भन्ने कुरा बच्चा पाउने उमेरमा, गर्भवतीमा बेलामा, इस्ट्रोजेन ग्राह्य केन्द्र बढी भएकामा फाइब्रोइड हुने र किशोरीवस्थापूर्व र महिनावारी सुकेपछि नहुने बाट प्रष्ट हुन्छ । प्रायसः फाइब्रोइडको समस्यासँग महिनावारी गडबडी पनि हुन्छ ।         बच्चा नपाएका, उच्च मोटोपना भएका, इस्ट्रोजेनको मात्रा बढ्ता भएका तथा काला जातिका मानिसहरुमा फाइब्रोइड बढ्ता हुने गरेको छ । गर्भावस्था तथा पिल्स चक्की खाइरहेकामा पाठेघरमा मासु पलाउने समस्या (फाइब्रोइड) तिव्र गतिमा बढ्ने गरेको छ । लक्षण चिन्ह         करीब ७५ प्रतिशतमा कुनै लक्षण चिन्ह देखा नपर्न सक्छ । अन्यमा महिनावारी हुँदा अधिक रक्तश्राव हुने, सानो पेट दुख्ने, निसन्तान हुने, सानो पेटमा डल्लो भेटिने तथा गर्भ रह्यो भने गर्भ तुहिने, महिना नपुग्दै व्यथा लाग्ने तथा बच्चा सानो हुने हुन्छ ।         फाइब्रोइड प्रायसः पाठेघरको माथिल्लो भाग र धेरै संख्यामा हुन्छ । पाठेघरको मध्य तहबाट शुरु हुने फाइब्रोइड समस्या समयक्रम सँगै पाठेघरको बाहिरी तिर वा भित्री भाग तिर बढ्छ । पाठेघरको भित्री तह तिर बढ्ने सम्भावना कम भएपनि यस प्रकारको फाइब्रोइड चाँडै कुहिने र संक्रमण (फाइब्रोइडका जटिलताहरु) हुने कारणले महिनावारीको बेला बढ्ता रक्तश्राव गराउँदछ ।         विरामीको गुनासो अनुसार पाठेघरमा मासु पलाउने समस्या (फाइब्रोइड) को शंका गरी आन्तरिक परीक्षण वा सानो पेट जाँच (यदि फाइब्रोइडको आकार ठूलै छ भने) गर्दा कडा खालको, अनियमित सतह भएको, बाह्य सतह प्रष्ट भएको दायाँ बायाँ तिर मात्र चलाउन मिल्ने हुन्छ । आन्तरिक परीक्षणको क्रममा फाइब्रोइड पाठेघरबाट (डिम्बाशय जस्तै) छुट्टै भेटिँदैन र पेटबाट फाइब्रोइड समाएर चलाएको खण्डमा पाठेघरको मुख पनि चल्दछ ।         गर्भावस्था, पिसाब थुनिँदा, डिम्बाशयको ट्युमर हुँदा, पाठेघर पूरै बढ्ने अवस्था (एडेनोमायोसिस), पाठेघरमा पिप वा रगत जम्ने अवस्था तथा पाठेघर तथा पाठेघरको क्यान्सर सँग पाठेघरमा मासु पलाउने समस्या (फाइब्रोइड) झुक्किन सक्छ अतः विस्तृत जाँच पड्ताल गराउनु पर्दछ ।         पिसाब जम्मा गरेर गरिने अल्ट्रासाउण्डबाट धेरैजसो फाइब्रोइड पत्ता लाग्नुका साथै डिम्बाशयको ट्युमर वा गर्भावस्था पनि छुट्याउन सकिन्छ । पाठेघरको भित्री तहमा हुने फाइब्रोइडका लागि हिस्टोरोस्कोपी (पाठेघर भित्र दुरबिनले हेरि गरिने जाँच) तथा सानो खालको फाइब्रोइड, सानो पेट दुख्ने एवं निसन्तान समस्या भएकामा ल्याप्रोस्कोपी गरी फाइब्रोइड वा अन्य कुनै समस्या छ पत्ता लगाउनु उपयुक्त हुन्छ । उपचार         करीब २५ प्रतिशतमा पाठेघरमा मासु पलाउने समस्या (फाइब्रोइड) सँगै लक्षण चिन्ह देखा पर्दछ । महिनावारी तथा शल्यक्रिया दौरान रक्तश्राव घटाउन, कतिपय निसन्तान तथा महिनावारी सुक्न लागेका विरामीमा तथा थोरै समय शल्यक्रिया सार्न लाई फाइब्रोइडको लागि मेडिकल उपचार गर्न सकिन्छ । यदि पाठेघरमा मासु पलाउने समस्या (फाइब्रोइड) को आकार सानो छ, फाइब्रोइड नै हो भन्ने निक्र्यौल भएको छ, बेला बेलामा फलो अप जाँच गर्न सकिन्छ र फाइब्रोइडको कारण कुनै लक्षण चिन्ह (अधिक रक्तश्राव÷दुखाई) देखा परेको छैन भने तत्काल उपचार गर्नुपर्ने जरुरत छैन ।         शल्यक्रिया चाहिने स्त्री रोगसम्बन्धी विभिन्न समस्याहरुमध्ये फाइब्रोइड पनि एक हो । फाइब्रोइडको हकमा पाठेघर पूरै निकाल्ने वा मासु पलाएको मात्र निकाल्ने भन्ने विकल्पहरु छन् । यसका लागि पेटमा ठूलो घाउ बनाउने वा स–साना प्वाल मात्र बनाई ल्याप्रोस्कोपीबाट वा पाठेघर भित्रै दूरबिन छिराई पलाएको मासु निकाल्ने जस्ता विकल्प पनि छन् । त्यसो त विकसित देशहरुमा पाठेघर भित्र फरक तवरको औजार छिराई पलाएको मासु धुल्याउने वा पाठेघरमा रगत सप्लाई गर्ने नशामा विशेष खालको औषधि राखी पलाएको मासु सुकाउने प्रविधि पनि आईसकेको छ ।         बच्चा पुगिसकेका तथा ४० वर्ष नाघेकालाई पाठेघर निकाल्ने शल्यक्रिया गरिन्छ । बच्चा पाउन बाँकी वा बच्चा पाउन ईच्छुक महिलाको हकमा फाइब्रोइड (मासुको डल्लो) मात्र निकाल्ने शल्यक्रिया (मायोमेक्टोमी) गर्न सकिन्छ । फाइब्रोइडको प्रकृति, अवस्थिति, आकार तथा उपचार विधिको उपलब्धता अनुसार ल्याप्रोस्कोपी वा हिस्टेरोस्कोपी बाट पनि फाइब्रोइडको सफल उपचार गर्न सकिन्छ ।         कहिलेकाहीँ पाठेघरमा मासु पलाउने समस्या (फाइब्रोइड) पाठेघरको तल्लो भागमा पलाउन सक्छ । यसको अवस्थिति अनुसार पिसाब, मलद्वार सम्बन्धी तथा रक्तनली थिचिनाले तत् सम्बन्धी लक्षण चिन्ह देखा पर्न सक्दछ । यस्ता खाले फाइब्रोइडको व्यवस्थापन छुट्टै खालले गर्नुपर्दछ ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्