IMG-LOGO

ढल्कँदो उमेर तथा धेरै बच्चा पाइसकेकी गर्भवती महिलाका समस्या

 मंगल, बैशाख २६, २०८०  – प्रा.डा. सुमनराज ताम्राकार

       नेपालमा महिलाहरुको शैक्षिक, सामाजिक एवं आर्थिक स्थितीमा सुधारसँगै उमेर ढल्केपछि मात्र विवाह गर्ने तथा सन्तान उत्पादन गर्ने क्रम बढ्दो छ । पछिल्ला दिनमा तीस वर्ष कटेपछि बच्चा पाउनेहरुको संख्या बढिरहेको छ । अर्कोतिर, छोराको आशैआशमा पटक पटक बच्चा पाईरहने, तुलनात्मक रुपमा ग्रामीण भेगमा सानैमा विवाह गर्ने र अपेक्षित रुपमा परिवार नियोजनका साधनहरु नअपनाउने कारण धेरै बच्चाहरु पाउने क्रम जारी नै छ । यस्तैमा दुईटा घटना यहाँ राख्न चाहन्छु ।        ३२ वर्षीया बैंकर रेश्मा विवाह नगर्ने भनेर बसिरहेकी थिईन् । तर अन्ततः उपयुक्त परिस्थिती बनेपछि विवाह गरिन् । गर्भावस्थाका बेला हल्का रक्तचाप बढेपनि वा सुगरको मात्रा थोरै बढेपनि औषधि भने सेवन गरिहाल्नुपरेन । महिना पुगेपछि पनि प्राकृतिक रुपमा व्यथा लागेन । त्यसैले भर्ना राखेर व्यथा शुरु हुने औषधि चलाएपनि पछि आशातित रुपमा व्यथा बढ्न सकेन । यस बीच पटक पटक सिजेरियन गरेर बच्चा निकालिदिन अनुरोध गर्न थालिन् । तर अनुभवी चिकित्सकले बच्चा आउने बाटो यथेष्ट भएको कारण तैबिसेक प्राकृतिक रुपमा योनीद्वारबाटै डेलिभरी भैहाल्छ कि भनेर सम्झाई बुझाई गरिरहे । तर पानीको थैलो फुट्ने क्रममा हल्का खैरो पानी देखिएपछि उपचारमा सँलग्न चिकित्सकले अब भने अडान लिन सकेन । किनकि खैरो पानी देखिनुको संकेत गर्भेशिशुलाई सकस हुन थालेको संकेत पनि थियो । अन्ततः सिजेरियनबाट बच्चा निकाल्ने निर्णय भयो । सिजेरियनपछि नवजात शिशुलाई केही दिन नवजात शिशुको सघन कक्षमा भर्ना राख्नु परेपनि आमा र शिशु सकुशल घर जान पाए । यही परिस्थिती बीस, पच्चीसको उमेरमा हुँदो हो त प्राकृतिक रुपमै बच्चा पाउने सम्भावना निकै हुन्थ्यो ।        उमेर ढल्केकी गर्भवती महिलामा आईपर्ने समस्याको प्रतिनिधी मूलक घटना मात्र हो । संक्षेपमा समयमा नै सजगता अपनाएन भने गर्भवती महिला एवं नजवात शिशुको ज्यान जोखिममा पर्न सक्छ ।  ढल्कँदो उमेरका गर्भवती महिलाका समस्या        स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुको विश्वव्यापी संस्था (फिगो) का अनुसार कुनै पनि महिला ३५ वर्ष पछि पहिलोपटक गर्भवती भएकी छिन् भने पनि त्यस्तो गर्भलाई जोखिमपूर्ण मानिन्छ । यस्तो परिस्थितिमा गर्भ राम्रो नै हुन्छ भन्ने निश्चितता हँुदैन । ढिलो गरि बिहा गरेपनि उर्वरा शक्ति बढी हुने छिटो गर्भ आउने वा विवाह गरेको धेरै समयपछि मात्र गर्भ आउने दुवै हुनसक्छ । तुलनात्मक रुपमा पछिल्लो चाहिँ राम्रो मानिन्दैन । पछिल्लो समय शहरी क्षेत्र एवं शिक्षित महिलाहरुमा ढिलो विवाह गर्ने चलनले यस्तो समस्या बढ्दो छ ।        ढल्कँदो उमेरमा गर्भवती हँुदा गर्भावस्थाकै शुरुवातीतिर नै गर्भ तुहिने, उच्च रक्तचापको समस्या बढी देखिने, व्यथा नलाग्दै साल छुट्टिने, पाठेघरमा मासु पलाउने, बढ्दो उमेरसँगै मधुमेह, मुटुको समस्या देखापर्ने, समयमै व्यथा नलागी महिना नाघ्ने, गर्भको शिशुको वृद्धि कम हुने सम्भावना बढी हुन्छ । महिना नपुग्दै व्यथा लाग्ने, प्रसवको क्रममा सुत्केरी व्यथा लामो हुने, आमा तथा गर्भे शिशुलाई सकस हुने, शल्यक्रियाजन्य उपचार बढ्ता चाहिने, सुत्केरीपछि साल अड्किने सम्भावना बढी हुन्छ । सुत्केरी पश्चात् शल्यक्रियाजन्य उपचारका जटिलता थपिने, आमाको दुध उत्पादनमा खराबी आई स्तनपान सफल नहुने, सुत्केरी पश्चात्को समयमा उच्च ज्वरो आउने तथा संक्रमण हुने सम्भावना पनि बढी हुन्छ ।        यसका साथै ढल्कँदो उमेरका गर्भवती महिलामा रोगव्याधी लाग्ने तथा मात्तृ मृत्यु हुने सम्भावना तुलनात्मक रुपमा बढी हुन्छ । महिना नपुगी प्रसव हुने कारणले कम तौलको बच्चा जन्मिने, वंशाणुअंशमा गडबडी आई जन्मजात रुपमा शारीरिक विकलाङ्ग देखापर्ने बढ्ता सम्भावना हुन्छ । यसका साथै उमेर ढल्केकीमा गरिने शल्यक्रियाजन्य उपचारका कारण नवजात शिशुको मृत्यु हुने सम्भावना बढी हुन्छ । व्यवस्थापन कसरी        गर्भावस्था तथा प्रसवका क्रममा महिला तथा शिशुमा देखापर्न सक्ने जटिलताका कारण उमेर ढल्केकी महिलाको गर्भवती अवस्थालाई उच्च जोखिम मानिन्छ । अनुभवी विशेषज्ञ डाक्टरको निगरानीमा रही नियमित रुपमा गर्भवती जाँच र ल्याब परीक्षण गराउनु पर्दछ । यस्तो खालको महिलाको सुत्केरी अस्पतालमै गराउनु पर्दछ । सुत्केरी पश्चात्को समयमा पनि थप हेरचाह पु¥याउनु पर्दछ । धेरै बच्चा पाएकी गर्भवती महिलाका समस्या        स्वस्थ र व्यवस्थित परिवारको अवधारणा अनुसार एक वा दुई मात्र बच्चा पाउनु राम्रो हुन्छ । शहरी क्षेत्र तथा शिक्षित दम्पत्तिहरु माझ कमै बच्चा पाउने चलन भएपनि ग्रामीण तथा दुर्गम भेगमा चेतनाको कमी, स्वास्थ्य सेवाको अभाव, ईच्छा शक्तिको कमी तथा छोरा नै पाउनु पर्ने लोकाचारका कारण बढी बच्चा पाउने चलन अहिले पनि छ । कुनै पनि महिलाले चार वा बढी बच्चा (जीवित) पाइसकेकी छिन् भने पनि यसलाई जोखिमपूर्ण मानिन्छ । अस्पतालमा गर्भावस्था तथा सुत्केरीका कारण हुने महिलाको मृत्युको करिब १० प्रतिशत तथा मात्तृ मृत्यु मध्ये एक तिहाई कारण बढी बच्चा पाउनु सँग सम्बन्धित छ । त्यसैले पनि बढी बच्चा पाइसकेकी गर्भवती महिलाको हेरचाहमा बढी ध्यान पु¥याउनु पर्दछ ।        धेरै बच्चा पाएकी गर्भवती महिलामा गर्भावस्थाका शुरुवातीतिर गर्भ तुहिने, बच्चाको बसाई उल्टो वा गलत हुने, जुम्ल्याहा वा तिम्ल्याहा बच्चा हुनसक्ने, साल गलत ठाउँमा बस्ने हुनसक्छ । रक्तअल्पता, उच्च रक्तचाप, मुटुको क्षमतामा गडबडी, मलद्वार एवं पिँडौलामा नशा फुल्ने, महिना नपुग्दै व्यथा लाग्ने समस्या आउन सक्छ । प्रसवको क्रममा गर्भे शिशुको गलत बसाईका कारण नाल पहिला निस्कने, गर्भको संख्यासँगै तुलनात्मक रुपमा गर्भेशिशुको तौल बढ्दै जाने, योनीद्वार हुँदै प्रसव हुने सम्भावना कम हुने, प्रसव व्यथा कष्टकर हुने, शल्यक्रियाजन्य उपचार चाहिने, प्रसव पछि अधिक रक्तश्राव हुने तथा बेहोश हुने (कमजोर शारीरिक अवस्था, रक्तअल्पता, प्रसव व्यथासँगै पाठेघर च्यातिएको पत्ता लाग्न नसकेर) हुनसक्छ । सुत्केरी पश्चात् पनि पाठेघर राम्ररी नखुम्चिने, स्तनपान सफल नहुने, पाठेघर तथा योनीद्वारको संक्रमण बढ्ने, उच्च ज्वरो आउने हुनसक्छ । व्यवस्थापन कसरी        धेरै बच्चा पाएकी गर्भवती महिलाको गर्भावस्थालाई पनि उच्च जोखिमपूर्ण मानी विशेष निगरानीमा गर्भ जाँच आवश्यक हुन्छ । यस्तो महिलाको सुत्केरी पनि अस्पतालमै हुनु पर्दछ । प्रसवको क्रममा योनीद्वार यथेष्ट छ, छैन दोहो¥याएर परीक्षण गरेपछि वा व्यथा लामो वा कष्टकार हुने छाँटकाँट भए उपयुक्त विकल्प अपनाईन्छ । प्रसवपछि साल अड्किने वा अधिक रक्तश्राव हुने सम्भावना बढी हुने भएकोले समयमै चनाखोपना अपनाउनु पर्दछ ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्