भाइरल हेपाटाइटिस भन्नाले संक्रामक रोगहरुको समूह बुझिन्छ । यसमा हेपाटाइटिस ए बी सी डी र ई समेटिएको छ । सन् २०२२ को तथ्यांक अनुसार विश्वभर तीस करोड मानिस हेपाटाइटिस बी र सीबाट प्रताडित छन् । १३ लाख मानिसले जीर्ण प्रकारको हेपाटाइटिस बी र सीकै कारण ज्यान गुमाए । केवल ४५ प्रतिशत नवजात शिशुले जन्मेको २४ घण्टाभित्र हेपाटाइटिस बी खोप पाउने गरेका छन् । हेपाटाइटिस संक्रमणसँग सम्बन्धित आर्थिक, सामाजिक एवं प्रणालीगत वाधाका साथै यसकै कारण व्यतित गर्नुपरिरहेको हेयभावलाई तोड्न सके हेपाटाइटिसलाई निर्मूल पार्न र कलेजोको क्यान्सरको रोकथाम गर्न सकिने बताइएको छ । त्यसैले पनि भाइरल हेपाटाइटिसबारे विश्वव्यापी चासो बढाउने उद्धेश्यका साथ ‘यसलाई तोडौं’ भन्ने नाराका साथ हिजो विश्व हेपाटाइटिस दिवस मनाईयो । हेपाटाइटिस बी भाइरसका आविष्कारक तथा नोबेल पुरस्कार विजेता प्राध्यापक बारुख सामुएल ब्लुमवर्गको जन्मदिनको सम्मानमा वर्सेनी २८ जुलाईको दिनमा हेपाटाइटिस बारे जनचेतना जगाउन तथा भाइरल हेपाटाइटिस एवं यसबाट हुने स्वास्थ्य समस्याबारे बुझाउन यो दिवस मनाउँदै आएको छ । हेपाटाइटिस ए यो भाइरल संक्रमणले सामान्य देखि गम्भीर प्रकृतिको समस्या गराउन सक्छ । खाद्यजन्य संक्रमणहरुका मुख्य कारक मध्ये हेपाटाइटिस ए भाइरस पनि एक हो । विश्वभर वर्सेनी करिब १४ लाख प्रभावित हुन्छन् । दूषित खाना तथा पानीका कारण सर्ने यो संक्रमणको महामारीले भयानक स्थिति निम्त्याई ठूलो आर्थिक नोक्सानी गराउन सक्छ । सन् १९८८ मा संघाईमा ३ लाख मानिस प्रभावित हुने गरी भयानक स्थिति सृजना भएको थियो । स्वच्छ पानीको अभाव तथा नाजुक ढल निकाससँग यो संक्रमणको प्रत्यक्ष सम्बन्ध छ । हेपाटाइटिस ए ले प्रायः जीर्ण खालको कलेजोको समस्या गराउँदैनन् र विरलै प्राणघातक साबित हुन्छ तर संक्रमण दौरान संक्रमित व्यक्तिको दैनिक क्रियाकलापलाई भने नराम्ररी असर पार्दछ । हेपाटाइटिस ए भाइरस वातावरणमा रहिरहन सक्छ । यसका साथै खाद्य उत्पादन प्रक्रियाका दौरान व्याक्टेरिया नियन्त्रण गर्ने उपायले पनि यसलाई कुनै असर पुग्दैन । यस संक्रमणमा ज्वरो आउने, आलस्य लाग्ने, खाना अरुची हुने, पखाला लाग्ने, वाकवाकी लाग्ने, पेटमा असजहता हुने, गाढा रंगको पिसाब हुने, आँखा तथा छाला पनि पहेंलोपन देखिने हुन्छ । तर सबै संक्रमित व्यक्तिमा यी सबै लक्षण नहुन पनि सक्छ भने अन्य प्रकारको हेपाटाइटिसमा पनि यस्तै लक्षण चिन्ह देखिन सक्ने हुनाले लक्षण चिन्हकै भरमा हेपाटाइटिस ए लाई अन्य प्रकारका हेपाटाइटिससँग छु्ट्याउन सकिँदैन । अतः एक आपसमा छुट्याउन रगतको जाँच आवश्यक छ । यो संक्रमणको लागि खासै निश्चित उपचार छैन । यस संक्रमणबाट टङ्ग्रिन पनि समय लाग्न सक्छ । संक्रमित व्यक्तिलाई सजिलो बनाउने, पोषिलो खाना यथेष्ट ख्वाउने, झाडापखालाका कारण खेर गएको लवण पानीको परिपूर्ति गर्ने गर्नु पर्दछ । हेपाटाइटिस बी यो भाइरल संक्रमणले कलेजोलाई एक्कासी तथा दिर्घकालीन रुपमा आक्रमण गर्दछ । संक्रमित रगत तथा अन्य शारीरिक श्रावबाट निरोगीलाई सर्दछ भने संक्रमित आमाबाट गर्भे शिशुमा पनि सर्न सक्दछ । हेपाटाइटिस बीको परिणतिका कारण वर्सेनी करिब ८ लाखको मृत्यु हुन्छ । हेपाटाइटिस बीको संक्रमण स्वास्थ्यकर्मीको लागि व्यवसायजन्य स्वास्थ्य जोखिम पनि हो । सुरक्षित र प्रभावकारी खोप उपलब्ध भएका कारण यो कम खतरनाक बन्दै गएको छ । मध्यपूर्व तथा भारतीय महाट्ठिद्वपका करिब २.५ प्रतिशत जनसंख्या दिर्घकालिन रुपमा प्रभावित छन् । हेपाटाइटिस बी भाइरस मानव शरीर बाहिर एक हप्तासम्म बाँच्न सक्छ । हेपाटाइटिस बीले कालान्तरमा कलेजोको सिरोसिस वा क्यान्सर गर्न सक्ने भएपनि ९० प्रतिशतभन्दा बढी संक्रमित व्यक्तिमा यो आफैं निको हुन्छन् । करिब ६ महिना भित्र भाइरसबाट छुटकारा मिल्छ । उपचारको हकमा हेपाटाइटिस ए जस्तै हो । यसको अलावा एन्टरफेरोन तथा एन्टी भाइरल औषधि पनि छन् । तर हेपाटाइटिस बीको रोकथामको लागि खोप मुख्य आधार हो । आवश्यक परेको खण्डमा जन्मेको २४ घण्टमभित्रै दिन सकिन्छ । नेपालमा यस खोपलाई राष्ट्रिय खोप तालिकामा पनि सँलग्न गरिएको छ । पटक पटक रगत लिई राख्नुपर्ने, डाइलाइसिस गराउनुपर्ने, नशाद्वारा लागू पदार्थ लिने, घरमा कसैलाई हेपाटाइटिस बी संक्रमण छ भने वा संक्रमितसँग यौन सम्बन्ध राख्ने, धेरै जना सँग यौन सम्बन्ध राख्ने, हेपाटाइटिस बी संक्रमणबाट बढ्ता प्रभावित थलो (सबसहारा अफ्रिकी क्षेत्र तथा पूर्वी एशिया) मा जाने पर्यटकले अनिवार्य रुपमा पूर्ण खोप लिनु पर्दछ । हेपाटाइटिस ई यो संक्रमण गर्भवती महिलाको लागि खतराको घण्टी नै हो । यस संक्रमणबाट वर्सेनी २ करोड प्रभावित हुन्छन् । करिब ३० लाख भन्दा बढीमा सख्त प्रकारको हुन्छ भने वर्सेनी ५६ हजारको मृत्यु नै हुन्छ । प्रायः आफैं निको हुने भए पनि कलेजोको फेल गराउन सक्छ । मुख्यतः संक्रमित पानीको कारण लाग्ने यो संक्रमण विश्वभर पाइएपनि पूर्वी तथा दक्षिण एशियामा बढी देखिन्छ । हेपाटाइटिस संक्रमित मध्ये ६० प्रतिशत भन्दा बढी र यसका कारण मृत्यु हुने मध्ये ६५ प्रतिशत यसै क्षेत्रका हुन्छन् । यसको अलावा युद्धग्रस्त क्षेत्र, शरणार्थी शिविर, आन्तरिक रुपमा विस्थापित भएका परिवारमा बढी पाइएको छ । गर्भवती महिला बढ्ता जोखिममा हुन्छन् । संक्रमित मध्ये २० प्रतिशतको मृत्यु हुनसक्छ । रोग सँग लड्न सक्ने क्षमता कमी भएकामा पनि यो संक्रमण चाँडै लाग्छ । पूर्ण रुपमा कलेजोको संक्रमण भएका तथा गर्भवती महिलालाई अस्पतालमा भर्ना राखेर उपचार गर्नुपर्ने हुन्छ । हेपाटाइटिस ए र ई बाट बच्न सरसफाई एवं स्वच्छ खाना तथा पानीमा र हेपाटाइटिस बी र सी बाट बच्न निर्मलीकत सूई, सुरक्षित सेक्स, राम्ररी जाँचिएको रगत एवं रगतजन्य पदार्थको उपयोगमा बढ्ता ध्यान दिनु पर्दछ ।
