विगत केही वर्षदेखि नयाँ वर्ष वा अन्य महत्वपूर्ण अवसर पारेर केही नविन एवं सिर्जनात्मक प्रतिबद्धता गर्ने प्रचलन बढ्दै गएको छ । नयाँ वर्ष वा उक्त एकदिन जति जोश जाँगरका सो प्रतिबद्धता पालना गरिन्छ, पछिसम्म पनि पालना गर्न सके सुनमा सुगन्ध हुने थियो । अब विलम्ब नगरिकन महिला स्वास्थ्य यो नयाँ वर्षको अवसर पारेर प्रतिबद्धता गर्न सकिने केही विषयमा उल्लेख गर्न चाहन्छु । सहजता एवं प्रष्टताको लागि किशोर, नारी वा महिलालाई किशोर, प्रजनन एवं रजनोवृत्ति गरि तीन उमेर समूहमा वर्गीकरण गर्न चाहन्छु । अब लागौं किशोरी उमेर समूह तर्पm । यो उमेर समूहमा पछिल्लो समय अलि फरक खालका समस्या देखिने क्रममा छ । विगतमा विकसित देशहरुमा मात्र देखिने, वा सोच्न सकिने समस्या अहिले नेपाल पनि अछुतो रहेन । ती हुन् मोटोपनाको समस्या, यो सँगै पीसीओएसका साथै महिनावारीको समस्या, विवाहपूर्व यौन सम्बन्धका साथै अनिच्छित गर्भ वा पटक पटकको आकस्मिक गर्भ निरोधको प्रयोगको समस्या, अत्याधिक जङ्क फुड एवं अल्कोहल एवं स्मोकको समस्या । त्यसमाथि यो उमेर समूहमा थाइरोइडको गडबडी, क्याल्सियम एवं भिटामिन डीको समस्याको साथै रक्तअल्पताको समस्या । अचेलका किशोरीहरु स्वादे जिब्रोका छन्, आधुनिक अर्थात् पछिल्लो ट्रेण्ड फलो गर्न चाहन्छन् । विगतमा जसो जनचेतना वा स्वास्थ्य शिक्षाबारे अनभिज्ञ छन्, त्यो पनि होइन । धेरै थोरै बुझ पचाउने वा हल्का तवरले लिने तवरका छन् । अहिले आईपील वा यस्तै खाले आकस्मिक गर्भ निरोधका साधनहरु सेवन गर्नेहरुमा अनम्यारिड टिनएजर्सहरुको संख्या बाक्लिँदै गएको छ । त्यसैगरी एबोर्सन गराउने हेतुले मेडिकल एबोर्सनका पिल्स लिने वा क्युरेट गराउनेहरुमा पनि तिनीहरुकै संख्या बढ्दैछ । अहिलको परिप्रेक्ष्यमा शिक्षित टिनएजर्सलाई सेफ सेक्सबारे थाहा नभएको होला त ? आफ्नो महिनावारी चक्र के, कस्तो छ र महिनावारीको कतिऔं दिनमा गर्भ रहन्छ भन्ने सामान्य जानकारी पनि नभएको होला त ? पूर्वीय चिन्तन एवं हाम्रो सामाजिक मूल्य मान्यताका कारण मात्र नभई पटक पटकको गर्भपतन (एबोर्सन) भविष्यमा आफ्नो प्रजनन स्वास्थ्यमा पर्न जाने जटिलताबारे हेक्का नभएको होला त ?त्यसो होइन तिनीहरुलाई भविष्यबारे चिन्ता छैन, केवल वर्तमानमा रमाउन चाहिरहेका छन् । त्यसो भएर २०८२ सालदेखि यौन क्रियाकलापप्रति अलि अनुशासित बनौं, आफ्नो पार्टनरलाई कन्भिन्स गरौं – ‘नट टु ह्याभ अर्लि सेक्स, ईफ सो लेट्स प्राक्टिस सेफ सेक्स’ भन्नेमा दृढ बनौं । त्यसैगरी आफ्नो स्वादेजिब्रोलाई थोरै लगाम लगाउन थालौं । र, फेन्सी जङ्क फुड होइन, घरमै पकाएको वा रैथाने खानेकुरामा रमाउन सिकौं । पपकर्न होइन मकै, भटमास भुटेको, कोक पेप्सी होइन दही मोहीमा बल गरौं । अल्कोहल, बुज, जि (गाँजा), भ्याप, पफबाट टाढा रहौं, यदि लामो समय जिउनु छ, जिउनुको मज्जा लिनु छ भने । कालान्तरमा जीर्ण खालको श्वासप्रश्वासको समस्या (सीओपीडी), दम, डायबिटिज, उच्च रक्तचाप, हर्ट एट्याक, स्ट्रोक (मस्तिष्काघात) बाट बच्ने अभियान यही वर्ष थालौं । २०८२ सालको केही दिनमै एकपटक यी टिनएजर्स उमेर समूहकालो आ–आफ्नो शरीरमा हेमोग्लोबिनको मात्रा कति छ, थाइरोइड, क्याल्सियम, भिटामिन डी तथा लिपिड प्रोफाइल (कोलेस्टेरोल, ट्राईग्लाइसेराइड) को लेभल चेक गरौं । र, पछिल्लो समय पीसीओएस एवं यसका कारण महिनावारी गडबडी हुने तथा डण्डीफोर र अस्वभाविक रौं पलाउने समस्या लिएर आउनेहरु पनि बढ्दो छ । मुख्य कुरा मोटोपना र पीसीओएसबीत अन्योन्याश्रित सम्बन्ध छ । यी समस्या भएका आँखा चिम्लेर आफ्नो तौल १० प्रतिशतले घटाऔं, १६ घण्टे किटो फास्टिङ बसेर, जुम्बा गरेर, पसिना निक्निले गरि जगिङ गरेर (यो उद्धेश्यका लागि मर्निक वाकको काम छैन), स्किपिङ गरेर । पीसीओएस भएकालाई चिकित्सकले विभिन्न हर्मोन टेष्ट गर्न लगाउने, फास्टिङ इन्सुलिन चेक गराउने, अल्ट्रासाउण्ड गर्न निर्देशन दिन सक्छन् । तर मुख्य कुरा पिज्जा, फास्टफुड, बियर, सफ्ट ड्रिंंकबाट टाढा रहौं । यी टिनएजर्सहरु रजनोवृत्ति उमेर पुग्ने बेला मेनोपजल समस्याबाट बच्नु छ भने आजैबाट मनग्गे भटमास, गेडागुडी, दुग्ध पदार्थ मनग्गे सेवन गर्न थालौं । अँ साँच्ची, एचपीभी भ्याक्सिन लिनु नै भयो होला नि ? प्रजनन उमेर समूहका महिलाले मुख्यतः गर्भवती तथा सुत्केरी अवस्थासँग सम्बन्धित विषयमै ध्यान केन्द्रित गर्नुपर्छ । यी उमेर समूहका महिलाहरु पनि थाइरोइड, कोलेस्टेरोल, मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल, युरिक एसिड, अस्टियोपोरोसिस (हड्डी खिइने, कमजोर हुने समस्या) बाट प्रताडित भएको देखिन्छ । दुःखको कुरा, आपैंmले दुध दुहेर त्यसलाई बेच्न पठाई चाउचाउ, बिस्कुट अनि हर्लिक्स लिएर आउन लगाउनको कमी छैन । महिलाहरुको जीवनमा पनि चालीस वर्षको उमेर एक मानक हो । मध्य तीसको दशकबाट शरीरको क्षयीकरण प्रक्रिया चालीसपछि तीव्रता आउँछ । र, किनकि चालीस कटेपछि विभिन्न खालका मेडिकल समस्या पनि देखिन थाल्छ । विश्वका प्रत्येक मानिस आपैंmमा फरक प्राणी हुन् त्यसैले निश्चित संख्याका मानिसहरुमा गरिएका परीक्षण वा अनुसन्धानबाट निकालेका निष्कर्षले सबैलाई प्रतिनिधत्व गर्दछ भन्ने छैन । तर पनि चालीसमाथिका महिलाहरु केही ती निश्चित जाँचहरु गराउनु बुद्धिमानी नै हुन्छ ।त्यसो भए चालीस कटेका महिलाले के, के जचाउने त ? मानव शरीरमा मस्तिष्क (गिदी), मुटु, मिर्गौला, फोक्सो र कलेजोलाई निकै महत्वपूर्ण अङ्गहरु मानिन्छन् । यी अङ्गहरुमध्ये कुनैमा पनि विकार आए व्यक्ति विशेषको दैनिक जीवनमा निकै असहजता उत्पन्न हुन्छ । अतः माथि उल्लेखित प्रधान अङ्गहरुको काम गराई कस्तो छ भन्ने कुरा नियमित रुपमा जचाई जानकारी पाइराख्नुराम्रो हुन्छ । त्यसैगरी मुटुको स्वस्थता थाहा पाउन ईसीजी नामक प्रारम्भिक जाँच गराए पुग्छ । ईसीजीको रिपोर्ट हेरिकन मात्र ईकोकार्डियोग्राफी भनिने मुटुको भिडियो एक्सरे गराउन आवश्यक हुन्छ । रक्तनलीमा बोसो अर्थात् कोलेस्टेरोल जम्यो भने रक्तनली साँगुरिन गई हृदयाघात हुने, मस्तिष्काघात हुने, उच्च रक्तचापको समस्या देखिन सक्ने हुनाले शुरुमै लिपिड प्रोफाईल भनेर जाँच नगराई रगतमा कोलेस्टेरोल एवं ट्राईग्लाईसेराईडको प्रारम्भिक परीक्षण गराए पुग्छ । यसमा असामान्य नतिजा आए मात्र लिपिड प्रोफाइल गराउँदामा हुन्छ । त्यसैगरी कलेजोको काम गराईको अवस्था थाहा पाउन रगतमा बिलिरुबिन, एएसटी र एएलटी भनिने प्रारम्भिक जाँच गराए पुग्छ । मिर्गौलाको स्वस्थता थाहा पाउन पिसाबमा एल्बुमिन, रक्तकणिका अनि रगतमा क्रियटिनिनको मात्रा जाँच गराए पुग्छ । यदि मिर्गाैला सम्बन्धी यी रिपोर्टमा कुनै कैफियत देखियो भने मात्र पिसाबको कल्चर मिर्गौलाको भिडियो एक्सरे, रगतमा ईलेक्ट्रोलाईट्सको जाँचगराउने तर्पm लाग्नुपर्छ । नेपालका ग्रामीण भेगतिरका महिलाहरुमा धुम्रपान गर्नै चलन बढी छ । र, घरका कसैले धुम्रपान गर्छन् भनेप्यासिभ स्मोकरका साथै घरभित्रैका धुँवा धुलो एवं शहरबजारको वायु प्रदुषणले महिलाहरुमा फोक्सोको समस्या निम्त्याउन सक्छ । फोक्सोको सही अवस्था थाहा पाउन छात्तीको एक्सरेको प्रारम्भिक जाँच गराए पुग्छ । स्वाँ स्वाँ गरि सास फुल्ने, हल्का दम जस्तो पनि छ भने पल्मोनरी फन्क्शन टेष्ट भनेर सास तानेर, फुकेर गरिने टेष्ट गराउँदामा हुन्छ ।त्यसैगरी थाइरोइड ग्रन्थिको स्वस्थताको लागि टीएसएच भन्ने प्रारम्भिक जाँच मात्र गराए पुग्छ । साथै भोको पेटमा रगतमा सुगरको मात्रा एवं दिसाको साधारण जाँच गराउनु राम्रो हुन्छ । बढ्दो आर्थिक स्तर र राम्रो खानपानले नेपाली महिलाहरुको आयु लम्बिन थालेसँगै बुढ्यौली उमेरमा देखा पर्ने स्वास्थ्य समस्या एवं क्यान्सरको जोखिमलाई विचार गरेर थप जाँच गराउन पर्ने हुन्छ । जस्तै कि स्तनको क्यान्सरको लागि म्यामोग्राफी तथा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्गको लागि प्याप स्मियर (वा यस्तै कुनै परीक्षण) गराउन आवश्यक हुन्छ । पित्त थैली, मिर्गौला, पाठेघर, डिम्बाशयको अल्ट्रासाउण्ड (भिडियो एक्सरे) गराउनु राम्रो हुन्छ । त्यसैगरी मोटोपना भएकी, मधुमेह उच्च रक्तचाप एवं उच्च कोलेस्टेरोलले प्रभावित महिलामा पाठेघरको क्यान्सरको जोखिम हुन्छ । पारिवारिक इतिहास भएकी महिलामा डिम्बाशयको क्यान्सर हुन सक्छ । त्यसैले तिनीहरुले चिकित्सको परामर्शमा क्युरेट गरि बायोप्सी जाँच गराउने, अल्ट्रासाउण्ड गराउने गर्नुपर्छ । र, चालीसमाथिका महिलाहरुले अन्य लक्षण चिन्हहरु अनुसार थप चेक जाँच गर्न आवश्यक हुन्छ । बढ्दो शहरीकरण, व्यस्त जीवनशैली, एकल परिवार एवं चुनौतीपूर्ण आय आर्जनसँगै अहिलेका मानिसहरुमा मानसिक समस्याको थुप्रो लागेको छ । अहिलेका मानिसहरु डिप्रेसन, चिन्ता, टेन्सन, दुव्र्यसनीको शिकार, आत्महत्याको सोचबाट गज्रिरहेका हुनसक्छ । २०७२ सालको भूकम्प अनि पछिल्लो समयको कोभिड महामारीपछि मानसिक समस्याबाट प्रताडितहरुको संख्या निकै बढेको देखिन्छ । यस्तो परिस्थितिमा मानसिक स्वास्थ्य जाँचको पनि उत्तिकै महत्व हुन्छ । यी उमेरका महिलाहरुले खानपानको हकमा अर्गानिक एवं घरमै पाकेका खानेकुरामै बल गर्नुपर्छ । र, खाना पनि कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन एवं लवणपदार्थको सही सम्मिश्रण भएको हुनुपर्छ । कहिलेकाहीँ स्वाद फेर्ने कुरा बेग्लै हो । रजनोवृत्ति अर्थात् महिनावारी सुकिसकेकी महिलाहरुको हकमा रक्तअल्पता, जीर्ण खालका श्वासप्रश्वासका रोग, पाचन एवं निद्रा गडबडी, ओस्टिओपोरोसिस, नसर्ने खालका रोगहरुका साथै माथि उल्लेखित केही गाइने क्यान्सरहरु त छुट्याउनै पर्दछ । र, ढल्कँदो उमेरसँगै डिमेन्सिया, पार्किसन्स, अल्जाइमर्स, डिप्रेसन, एन्जाइटीलाई, एक्लोपनालाई विशेष तवरले सम्बोधन गर्नैपर्दछ । खानपानको हकमा तागतिलो, सहज पाच्य, तुलनात्मक रुपमा शाकाहारी, भिटामिन एवं लवण पदार्थयुक्त खानेकुरामै जोड दिनुपर्दछ । घाममा बस्ने, आराम गर्ने, जिउ मिचमाच गरिदिने, व्यक्तिगत सरसफाईमा ध्यान दिने, मन एकचित्त पार्ने, आफ्नो रुची अनुसार धर्म अध्यात्ममा मन भुलाउने, स्वास्थ्य तन्दुरुस्ती मुताबिकका तिर्थ मेला यात्रा गर्ने ती उमेर समूहका महिलाहरुका लागि बोनस प्वाईन्ट हुन् । सारांशमा परिवारमा महिलाको भूमिका अनेक छन् । अधिकतर नेपाली महिलाहरु आफ्नो स्वास्थ्य जोखिममा राखेर सदैव परिवारजनको हितमा लागिपर्छन्, जुन गलत छ । परिवारमा महिला स्वस्थ भयो भने परिवार नै स्वस्थ हुन्छ । अतः २०८२ को पावन अवसरमा यो वर्षदेखि सेल्फ केयरमा ध्यान दिन्छु भन्ने दृढ संकल्प गरौं । यसमा पुरुष मित्र, छोरा, नातिले पनि आफ्ना श्रीमती, आमा, हजुरआमाको स्वास्थ्य सही अवस्थामा राख्न सहयोग गर्छु भन्ने प्रण गरौं । वास्तवमा यही नै नयाँ वर्षको सार्थक संकल्प हुनेछ ।
