कति आनन्द हुने थियो यदि आँसु उँभो बग्दो हो । आँसु झरेर छातीलाई मात्र नभिजाएर मस्तिष्कलाई नै भिजाउने थियो । आँसु उँभोतिर बग्दो हो त सायद मान्छेको विवेकका कठोर बन्जर भूमिहरू कोमल, गिला र खुकुला हुन्थे । आँसु उँभोतिर बग्दो हो त हिरोसिमामा बम खस्ने थिएन नागासाकी पड्कने थिएन । गोड्से र जोन बुथ फ्याँकेर पिस्तोल गर्थे अङ्कमाल गान्धी र लिङ्कनसित । क्लड इथर्ली आकाशबाट फूल बर्साउँथे । लिभरपुल जहाजहरूमा सोमालियाका केटाकेटीहरू हालेर घुमाउन जान्थे लिएर । यदि आँसु उँभोतिर बग्दो हो मान्छेका देशहरूमा झ्यालखानाहरू बनिने थिएनन् झ्यालखानाहरूमाथि फलैँचाहरू बनाएर बस्थे मानिसहरू हावा खान । यदि आँसु उँभो तिर बग्दो हो मान्छे ढुङ्गाका आकाश हुने थिएनन् मान्छे फलामका ग्रिल हुने थिएनन् मान्छेहरू खोलाहरू हुन्थे छालहरूसित अङ्कमाल गर्दै हिँड्थे । आँसुतर उँभो बग्न सकेको छैन । आँसु तर उँभो बग्न सकेको छैन ।।
